ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
बाँके, १९ माघ – ठेकेदार कम्पनीको लापरबाहीका कारण बाँकेका केही स्थानीय तहमा निर्माणाधीन प्रशासनिक भवनहरू लामो समयदेखि अलपत्र परेका छन्। निर्माण सम्झौताअनुसारको समयावधि सकिएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन्।
ठेकेदारले काममा ढिलाइ गर्दा पनि स्थानीय तहले पटक–पटक म्याद थप्दै जाने प्रवृत्तिले भवन निर्माण झनै प्रभावित भएको जनाइएको छ। कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी रु १५ करोड ३८ लाख लागतमा प्रशासनिक भवन निर्माणको जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो।
तर सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन। ठेकेदारको निवेदनअनुसार म्याद थप गरिए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताउनुभयो।
यस्तै, विसं २०७९ मै निर्माण सम्पन्न हुनुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि अधुरै छ। पाँच वर्षअघि रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा निर्माण सुरु गरिएको उक्त भवनको हालसम्म ८० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवनसमेत अझै प्रयोगमा आउन सकेको छैन। विसं २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीसँग रु छ करोड ८० लाख ३१ हजार लागतमा ठेक्का सम्झौता भएको भवन समयमै सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो।
भवन निर्माण ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो। यसैबीच, बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण पूरा नहुँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ।
खजुरा गाउँपालिका–३ बीगाउँस्थित उक्त भवनको अधिकांश संरचना सम्पन्न भइसकेको र केही प्राविधिक काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार विद्युत्, वाइरिङ र पानी निकास जस्ता संरचना जडानको काम भइरहेको छ। रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम.के. जुगल जेभीले भवन निर्माण गरिरहेको छ।

