बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर, १५ माघ – भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । दीर्घकालीन आम्दानी वृद्धि र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित गाउँपालिकाले बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसानको चासो बढ्दै गएको हो ।

गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रममार्फत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै दीगो र व्यावसायिक बहुवर्षीय खेती प्रणालीमा जोड दिइँदै आएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौँसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रणाली प्रभावकारी बन्दै गएको बताउनुभयो । किसानको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका बहुवर्षीय खेतीका लागि सहयोग उपलब्ध गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “हामीले बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा जोडिरहेका छौँ । बगैँचा विस्तारका लागि बिरुवा वितरण गरिन्छ । यसअघि सञ्चालन गरिएको अकबरे खुर्सानी खेती कार्यक्रम सफल भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गरिएको हो ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रणालीको विकासका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । यस वर्ष आवेदन आह्वान गरी ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको र छवटै वडामा कार्यक्रम कार्यान्वयन गर्न करिब रु ४० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

“विस्तृत कार्ययोजना तयार पारेर फलफूल खेती विस्तारको कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । कार्यक्रमको मूल नारा नै ‘रोप्ने, हुर्काउने’ हो,” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “प्राविधिकमार्फत बिरुवा रोपाइँदेखि मल व्यवस्थापन, हेरचाह तथा रोग–किराबाट बचाउने उपायबारे किसानलाई स्थलगत सेवा प्रदान गरिनेछ ।”

बहुवर्षीय बालीका रूपमा आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका फलफूल खेतीमा किसानलाई जोड दिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । फलफूल खेतीमार्फत किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा कृषि कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको पहलले किसानको आम्दानी वृद्धि गर्नाका साथै व्यावसायिक र दीगो कृषि प्रणाली विकासमा टेवा पुग्ने बताउनुभयो । बहुवर्षीय खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको र गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले थप प्रोत्साहन मिलेको उहाँले उल्लेख गर्नुभयो ।

“मैले पनि विगत छ वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएको छु । कागती खेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “अरु किसानहरू पनि राम्रो काम गरिरहेका छन्, आम्दानी पनि सन्तोषजनक छ ।”

Facebook Comments Box