आँखा उपचार केन्द्रलाई दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

सर्लाही, ८ माघ – सर्लाहीको लालबन्दीस्थित सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढी मूल्यका अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले रु दुई करोड २० लाख २१ हजार ८६० बराबरका आधुनिक उपकरण केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो ।

लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीका अनुसार केन्द्रको स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण प्रदान गरिएको हो । क्लबले फेको सर्जरी मेसिन, शल्यक्रियाका लागि आवश्यक माइक्रोस्कोप, स्लिट ल्याम्पलगायतका उपकरण उपलब्ध गराएको छ ।

केन्द्र स्तरोन्नतिसँगै अब यहाँ काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र सरहको सेवा उपलब्ध हुने डाइरेक्टर बुर्लाकोटीले बताउनुभयो । आँखासम्बन्धी अधिकांश समस्या तथा शल्यक्रिया अब यहीँबाट सम्भव हुने उहाँको भनाइ छ ।नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सञ्चालन गर्न लागेको छ । सो अवसरमा मुख्यमन्त्री यादवले केन्द्रको उद्घाटनसमेत गर्नुभयो ।

कार्यक्रममा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनमार्फत शल्यक्रियासहितको उपचार सुरु गर्ने योजना रहेकाले आवश्यक चिकित्सक तथा प्राविधिकको व्यवस्था गर्न प्रदेश सरकारसमक्ष अनुरोध गर्नुभयो । मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरबाही नियन्त्रणका लागि कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिनुभयो ।

उहाँले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । लायन्स क्लबले अत्याधुनिक उपकरण उपलब्ध गराई प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मुख्यमन्त्री यादवले क्लबप्रति आभार प्रकट गर्नुभयो ।

प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आँखा उपचार केन्द्रका लागि दक्ष प्राविधिक प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजनाअनुसार आवश्यक बजेट विनियोजन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले उपकरणको प्रभावकारी सदुपयोग गरी आँखाका बिरामीलाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो । लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेका अनुसार केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारतको विहार राज्यका करिब १० लाख आँखाका बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिका प्रमुख गोपाल पञ्जियार, पूर्वस्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box