देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन वरिष्ठ नेता साहको आग्रह
जनकपुरधाम, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो ।
वरिष्ठ नेता साहले प्रतिनिधिसभामा आफ्नो पार्टीलाई विजयी गराए देशले ठूला उपलब्धि हासिल गर्ने दाबी गर्नुभयो । उहाँले रास्वपाको सरकार बनेमा नागरिकले आफ्ना अधिकार आफ्नै प्रदेशमै प्राप्त गर्ने आधार अझ बलियो हुने बताउनुभयो ।
“म काम गर्ने मानिस हुँ । मलाई काम गर्ने मौका दिनुस् । काठमाडौं महानगर प्रमुख हुँदा गरेका कामबारे तपाईंहरू जानकार नै हुनुहुन्छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई जिताउनुभयो भने मधेसमा पनि काम गर्ने मेरो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो ।
उहाँले मधेस प्रदेशको राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिक स्थल भए पनि अपेक्षित विकास नदेखेर आफू चिन्तित र दुःखी भएको उल्लेख गर्नुभयो । “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदै गएको छ ।
पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो । “हाम्रो पार्टी र म विजयी भए यहाँको विकाससँगै प्रदेशका नागरिकलाई आफ्ना अधिकारका लागि काठमाडौं धाउनुपर्ने बाध्यतालाई हटाउन पहल गर्नेछौँ ।
हाम्रो सरकार बनेमा प्रदेशलाई अझ सशक्त, सक्षम र प्रभावकारी बनाउनेछौँ ।” वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासमा पूर्ण ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

