ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते

सुनसरी, १ माघ – विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेहरू सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का एकै बस्तीका पाँच जना हुन् । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार मृतकहरूमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको भागमा पाँच जना सवार थिए । दुर्घटनाका क्रममा पछाडि बसेका पाँचै जनालाई मार्बलले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याबिनमा सवार तीन जना घाइतेको विराटनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box