काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आगलागी, एक जनाकाे मृत्यु

काठमाडौँ, ३१ वैशाख – काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आगलागी भएको छ। बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ। आगलागीमा परेर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

काठमाडौँ महानगर पालिका वडा नम्बर- २४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट सुरु भएको आगलागी नजिकैको अर्को पाँचतले पक्की घरमा पनि सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दयाराम श्रेष्ठको चार तले घरको तेस्रो तल्लामा ग्याँस लिग भइ आगलागी हुँदा सँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको हो।

अहिले पनि दुईघरमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। घटना स्थलमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमाण्डमा २० जना प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। जलेकाे अवस्थामा फेला परेकाे शवकाे सनाखत हुन बाँकी छ।

आगलागी नियन्त्रणको लागि दुईवटा जुद्ध बारुणका दमकल, नेपाली सेना, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औधोगिक क्षेत्रका एक एक गरि ६ वटा दमकल परिचालन गरिएकाे छ। सुरक्षाकर्मी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box