विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै

ललितपुर, २८ पुस – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रहको प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको उक्त उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्षको अध्ययन र अनुसन्धानपछि तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ ।

उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मुनाल उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) को ‘एसएलभी–एसिक्स–टु’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०ः१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०ः३२ बजे प्रक्षेपण गरिनेछ ।

प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने जनाइएको छ । मुनाल उपग्रहको सफल प्रक्षेपणसँगै नेपालले अन्तरिक्ष प्रविधिमा स्वदेशी क्षमता विकासतर्फ अर्को महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box