थारू समुदायको ‘ढुम्री’ नाच लोप हुने अवस्थामा

दाङ, २७ पुस – थारू समुदायमा माघी पर्वको अघिल्लो दिन अर्थात् पुसको अन्तिम रातभर ‘ढुम्री’ नाच्ने परम्परा थियो । गाउँका थारू अगुवा वा महतवाको घरमा भेला भई रातभर ढुम्री गीत गाउने, नाच्ने र आगो ताप्दै उत्सव मनाउने चलन रहँदै आएको थियो ।

“यो हाम्रो पुर्ख्यौली संस्कार हो,” थारू अगुवा आशाराम चौधरीले भन्नुभयो, “रातभर ढुम्री नाचगान गरेपछि बिहान त्यही गीत गाउँदै नदी वा खोलामा नुहाउन जाने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिनुहुन्थ्यो र फेरि सबै महतवाकै घर फर्किन्थ्यौँ ।”

महतवाको घरमा भेला भएपछि सबै आ–आफ्नो घर फर्किने परम्परा रहे पनि पछिल्ला वर्षहरूमा यो चलन हराउँदै गएको चौधरीले बताउनुभयो । “पुर्खाहरूले अँगाल्दै आएको यो संस्कार अहिले नयाँ पुस्ताले चटक्कै छोड्दै गएको देखिन्छ,” उहाँको भनाइ छ । तुलसीपुर–१८ का फुलाराम चौधरीका अनुसार ढुम्री नाच हराउँदै गएको करिब २०–२५ वर्ष भइसकेको छ । “पहिले गाउँभरि यसरी ढुम्री नाच हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले भने यो परम्परा देख्नै पाइँदैन ।”

नयाँ पुस्तालाई ढुम्री नाचबारे पर्याप्त जानकारी नहुनु पनि यसको लोपको प्रमुख कारण बनेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताउनुभयो । उहाँका अनुसार ढुम्री नाचले थारू समुदायमा एकताको भावना जागृत गर्ने भएकाले यसको संरक्षण आवश्यक छ ।

“यो केवल नाच मात्र होइन, थारू समुदायको संस्कार, संस्कृति र एकताको प्रतीक हो,” उहाँले भन्नुभयो, “लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि हामी सक्रिय रूपमा लागिपरेका छौँ ।” ढुम्री नाच हराउँदै गएपछि त्यसको संरक्षणका लागि हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो । यसले नयाँ पुस्तालाई ढुम्री नाचबारे जानकारी गराउन र परम्परालाई जीवित राख्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

Facebook Comments Box