निर्वाचनमा ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
काठमाडौँ, १८ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न इच्छुक सेवा प्रदायकलाई निर्वाचन आयोगले आवेदन दिन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक र कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ। यसका साथै कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन पनि आयोगले आह्वान गरेको छ।
आयोगका अनुसार सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीले आवश्यक शर्त पूरा गरी आवेदन दिनुपर्नेछ। आवेदनका साथ सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त इजाजतपत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको कारोबार विवरण खुल्ने प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
हेलिकप्टर भाडामा दिन चाहने सेवा प्रदायकको पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम तीन करोड रुपैयाँ हुनुपर्नेछ। ट्रक तथा कन्टेनर सेवाका लागि एक करोड रुपैयाँ र कुरियर सेवाका लागि ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण आवश्यक पर्ने आयोगले जनाएको छ।
कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले ७७ वटै जिल्लामा रहेका आफ्ना कार्यालय तथा प्रतिनिधिको विवरण टेलिफोन र मोबाइल नम्बर सहित निवेदनका साथ पेस गर्नुपर्नेछ। एकभन्दा बढी समूहमा सूचीकृत हुने गरी निवेदन दिएमा त्यस्तो निवेदनमाथि कारबाही नगरिने आयोगले स्पष्ट पारेको छ। सेवा प्रदायक फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगमै निहित रहने पनि जनाएको छ।

