मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण जारी
मुस्ताङ, १५ पुस – प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शनपछि माथिल्लो मुस्ताङ पुग्न सकिने वैकल्पिक मार्ग निर्माणका लागि मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण भइरहेको छ। यो सडक वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने गरी सञ्चालनमा छ।
चालु आर्थिक वर्षको पाँच महिनामा सडकको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति २८.५८ प्रतिशत रहेको छ। निर्माण कम्पनीले अहिलेसम्म रु दुई करोड ५६ हजार भुक्तानी पाइसकेको छ। पूर्वाधार विकास कार्यालय गण्डकीअन्तर्गत कार्यान्वयनमा आएको यो १० किलोमिटर सडक योजना अन्तर्गत ६.५ किलोमिटर नयाँ ट्रयाक खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
ठेक्का सम्झौता अनुसार सडक निर्माणको लागत रु सात करोड एक लाख ५६ हजार तोकिएको थियो। सडक निर्माण सम्पन्न भएपछि माथिल्लो मुस्ताङका स्थानीय र पर्यटकहरूले छुसाङ हुँदै खिङ्गा हुँदै मुक्तिनाथ जानु नपरी, छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गर्न सक्नेछन्।
यसले स्थानीय नागरिक र पर्यटकका लागि यातायात दूरी छोट्याउने र आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीका अनुसार, गत असोजको वर्षाले सडकको केही हिस्सा क्षतिग्रस्त भएकोले मर्मतसम्भारको काम पनि भइरहेको छ।

