बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
ढाका, १५ पुस – बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। बीएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत् उनको निधनको सूचना सार्वजनिक गरेको हो। खालिदा आज बिहान स्थानीय समयअनुसार ६ बजे निधन भएकी हुन्। उनी पछिल्ला केही महिनादेखि बिरामी थिइन् र ढाकाको इभरकेयर अस्पतालमा उपचाररत थिइन्।
खालिदा जियाले आफ्नो राजनीतिक यात्रा चार दशकभन्दा लामो समयसम्म सञ्चालन गरिन्। सन् १९८१ मा पतिको हत्या पछि उनले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व सम्हालेकी थिइन्। सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी खालिदा २००१–२००६ सम्म सत्तामा रहिन्।
हालै उनी आफ्नो छोरा तारिक रहमानसँग भेटघाट गरेकी थिइन्, जो २५ डिसेम्बरमा लण्डनबाट ढाका फर्किएका थिए। खालिदा राजनीतिक रूपमा पछिल्ला वर्षमा विद्यार्थी आन्दोलन र चुनावी गतिविधिसँग समेत संलग्न रहिन्।

