प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा १ लाख २५ हजार ७६६ मतदाता
भोजपुर, १४ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा कूल १ लाख २५ हजार ७६६ जना मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या बढेको छ। अघिल्लो निर्वाचनमा भोजपुरमा १ लाख २३ हजार ३७९ जना मतदाता रहेकामा यसपटक २ हजार ३८७ जना थपिएका हुन्।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता संख्या १ लाख २५ हजार ७६६ पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार पुरुष मतदाता ६५ हजार ७८८, महिला ५९ हजार ९७७ र एक जना अन्य मतदाता रहेका छन्।
निर्वाचन कार्यालयले स्थानीय तहअनुसारको मतदाता तथ्याङ्कसमेत सार्वजनिक गरेको छ। जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन्। विवरणअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजार ४४४ र पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना मतदाता कायम छन्।
यसैगरी टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, रामप्रसाद राई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा ८ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० जना मतदाता रहेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय भोजपुरले आवश्यक तयारीलाई तीव्र बनाएको प्रमुख सुवेदीले जानकारी दिनुभयो।

