चिसोले थलियो बनिहाराको जीवन, हातमुख जोड्नै मुस्किल
महोत्तरी, १४ पुस – पुसको पहिलो सातादेखि निरन्तर जारी शीतलहरले महोत्तरीसहितका मधेसका जिल्लामा कडा जाडो बढाएको छ। हड्डी काप्ने चिसोका कारण सबैभन्दा बढी असर दैनिक ज्यालामजदुरी गरेर जीविका चलाउने बनिहारा वर्गमा परेको छ। जाडोमा काममा निस्कन नसक्दा उनीहरूको दैनिकी नै संकटमा परेको छ।
“अहिले त कसैले काममा बोलाउन पनि आउँदैन, आफैँ बाहिर निस्कन पनि आँट आउँदैन,” भङ्गाहा–३ मुसहरीटोलका पराउ सदा भन्छन्, “घरमा खाने अन्न सकियो, अब कसरी बाँच्ने हो?” जिल्लाका प्रायः सबै स्थानीय तहमा बसोबास गर्ने मुसहर समुदायको मुख्य जीविकोपार्जन कृषि मजदुरी हो। दैनिक गिरहतकहाँ काम गरेर प्राप्त पारिश्रमिकले गुजारा गर्दै आएका बनिहारा करिब दुई सातादेखि काम नपाउँदा चरम संकटमा परेका छन्।
“धान कटनीको बेला थोरै धान थियो, कुट्दै खाँदा अब सकियो,” औरही–७ भोइलटिम्कियाका पल्टा सदा भन्छन्, “झुप्रामा न अन्न छ, न काममा निस्कन सकिन्छ, बालबच्चा भोकै बस्नुपर्ने अवस्था आयो।”
मुसहर र बाँतर समुदायको संस्कृति र जीवनशैली मिल्दोजुल्दो छ र दुवैको मुख्य गुजारा कृषि मजदुरी नै हो। मुसहर जिल्लाका १५ वटै स्थानीय तहमा बसोबास गर्दै आएका छन् भने बाँतर समुदाय भङ्गाहा नगर क्षेत्रमा मात्र सीमित छ। भङ्गाहामा दुवै समुदाय बहुसंख्यकको रूपमा रहेका छन्।
जाडो र भोको पेटले रात कटाउन नसक्दा सडकछेउबाट संकलन गरिएका प्लास्टिकका झुत्रा र खरपात बालेर बनाइने ‘घूर’ नै उनीहरूको जाडोको एकमात्र सहारा बनेको छ। “के गर्नु हजुर, गरिबको जुनी यस्तै हो,” भङ्गाहा–४ की हेमनी सदा भन्छिन्, “खाने र बस्ने केही छैन, भगवानले यस्तो जीवन किन दिनुभयो होला?”
मुसहर समुदाय धन सञ्चय नगर्ने समुदायका रूपमा चिनिन्छ। बिहान मजदुरीबाट ल्याएको अन्न आधा खान र आधा बेचेर नुन–तेलको जोहो गर्ने, दिउँसो मुसा र माछा मारेर साँझ परिवारसँगै खाने उनीहरूको दैनिकी मौसम बिग्रिएसँगै अस्तव्यस्त बनेको छ। “न मजदुरी गर्न पाइएको छ, न माछा मार्न,” भङ्गाहा–४ पलार बस्तीकी सियानकीदेवी बाँतर भन्छिन्, “यतिखेर त भोट लिएर जितेकाहरूले सम्झिएला भन्ने आश छ, तर अहिलेसम्म कोही हेर्न आएको छैन।”
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार महोत्तरीमा मुसहरको जनसंख्या २७ हजार ३५२ रहेको छ भने बाँतर समुदाय करिब दुई हजारको हाराहारीमा छ। माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने मुसहरको संख्या जिल्लामा ५० नपुगेको र उच्च शिक्षामा २० जनाभन्दा कम रहेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउँछन्।
उनका अनुसार मुसहर र बाँतर समुदायको समग्र उत्थानका लागि शिक्षा नै पहिलो आधार भएकाले तीनै तहका सरकारबीच समन्वय गर्दै आर्थिक क्रियाकलाप र शिक्षामा पहुँच बढाउन विशेष पहल आवश्यक छ।

