पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
म्याग्दी, १२ पुस – म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ लाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नति योजना निर्माणको अन्तिम चरणमा पुगेको छ। गण्डकी प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/०८१ देखि सुरु भएको पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक योजनाअन्तर्गत पखेरदेखि करिब तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गरिएको हो।
एनके–युनाइटेड जेभीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको यस योजनाको हालसम्म ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले जानकारी दिनुभयो। उहाँका अनुसार अठार महिनाको ठेक्का अवधिभित्र योजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माणकार्य तीव्र रूपमा अघि बढाइएको छ।
विसं २०६६ मा मार्ग खुलेको उक्त सडकलाई सात मिटर चौडाइमा विस्तार गरी नाली र टेवा पर्खाल निर्माण गरिएको छ। घुम्ती र उकालो खण्डमा ५५० मिटर सडक ढलान गरिएको छ भने ग्राभेल सडकमा बर्खाले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण भइरहेको छ। सडकको ग्रेड र घुम्ती सुधारसँगै सवारी आवागमन सुरक्षित र सहज बनेको छ।
स्थानीयवासीका अनुसार यसअघि साँघुरो र जोखिमयुक्त कच्ची सडकमा साना सवारीसाधन चलाउनसमेत कठिनाइ हुने गरेको थियो। अहिले भने दश चक्के ट्रकसमेत गाउँसम्म पुग्न थालेका छन्। सडक स्तरोन्नतिपछि बरङ्जाबाट बेनी पुग्न लाग्ने समय एक घण्टाबाट घटेर करिब ३० मिनेटमा झरेको छ। सडक सुधारसँगै बरङ्जामा उत्पादन हुने दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयको भनाइ छ।
१७ वर्षपछि सडक स्तरोन्नति भएकोमा स्थानीयवासी उत्साहित देखिएका छन्। शुक्रबार सडक अनुगमनका क्रममा स्थानीयले गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसमक्ष ग्राभेल सडकलाई पक्की बनाउन तथा झाँक्रीपानी–धापुङ हुँदै ताराखोलातर्फ सडक स्तरोन्नतिका लागि पहल गर्न माग गरेका छन्। जुग्जालीले आवश्यक थप बजेट व्यवस्थापनका लागि प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो।

