प्रधानमन्त्री कार्की र नागरिक बचाउ महाअभियान संयोजक प्रसाईंबीच भेटवार्ता हुने

काठमाडौं, ७ पुस –  प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच उच्चस्तरीय भेटवार्ता हुने भएको छ। दुवैबीच पुस १५ गतेभित्र भेटवार्ता गर्ने सहमति भएको हो।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै उक्त भेटवार्ता तय गरिएको जानकारी गराउनुभएको हो।सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरी निरन्तर संवाद भइरहेको जनाएको छ।

त्यसैगरी, सरकारले तत्काल सम्बोधन गर्नुपर्ने पाँच विषयलाई प्राथमिकतामा राख्दै ती मागहरू पत्रमार्फत प्रसाईंलाई जानकारी गराएको छ।पत्रमा चैत १५ गते भएको तीनकुने घटनासँग सम्बन्धित प्रसाईंलगायत अभियन्तामाथि लगाइएका फौजदारी मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने,

भूमिहीन सुकुमबासी तथा कवाड व्यवसायीलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानबाट नहटाउने सुनिश्चितता गर्ने, बैंक, लघुवित्त, सहकारीलगायत वित्तीय संस्थासम्बन्धी समस्या समाधान गर्ने विषय समेटिएको छ।

त्यस्तै, किरात र बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी तथा राजसंस्थाका विषयमा जनमत संग्रहमार्फत निर्णय लिनुपर्ने, साथै चिकित्सा शिक्षाअन्तर्गत नर्सिङ, एमबीबीएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने मागलाई पनि सरकारले प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।

Facebook Comments Box