सामुदायिक रेडियोलाई टिकाइराख्न चुनौती बढ्दै : अकोराब

चितवन, ३ पुस – सूचना र जानकारी समुदायसम्म पुर्‍याउने सशक्त माध्यमका रूपमा स्थापित सामुदायिक रेडियो पछिल्लो समय गम्भीर संकटमा परेका छन्। तीन दशकको यात्रामा प्रवेश गरिसकेका सामुदायिक रेडियोहरू चरम आर्थिक समस्याका कारण टिकाइराख्न कठिन बन्दै गएका छन् भने कतिपय रेडियो प्रसारण नै बन्द गर्न बाध्य भएका छन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आबद्ध ३८७ रेडियोमध्ये हालसम्म ६० देखि ६५ वटा रेडियोले प्रसारण बन्द गरिसकेका छन्। परम्परागत सञ्चालन शैलीमै सीमित रहँदा रेडियोहरू आर्थिक तथा प्रविधिगत समस्यामा फसेको अकोराबको निष्कर्ष छ।

यसैबीच, सामुदायिक रेडियोलाई कसरी समुदायमा टिकाइराख्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर भोलिदेखि चितवनको सौराहामा तीनदिने सम्मेलन आयोजना हुँदैछ।

पछिल्ला वर्षहरूमा रेडियो सुन्ने श्रोताको संख्या घट्दै गएको सन्दर्भमा रेडियोलाई कसरी बचाउने र रूपान्तरण गर्ने भन्ने विषयमा सम्मेलनमा गहन छलफल हुने अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवकोटाले भन्नुभयो, “अब रेडियो सुन्ने मात्र होइन, हेर्ने माध्यमका रूपमा पनि विकास गर्नुपर्ने आवश्यकता छ। सामुदायिक रेडियोको तीन दशकको यात्रामा पुरानै शैलीमा सीमित हुँदा समस्या थपिँदै गएको छ।”

उहाँका अनुसार सम्मेलनमा प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध, भविष्यका बाटा, डिजिटल प्रविधिमा नयाँ पुस्ताको सहभागिता, डिजिटल प्लेटफर्ममा सामुदायिक रेडियोका सम्भावना र चुनौतीलगायत विषयमा छलफल गरिनेछ।

सम्मेलनमा चितवनका स्थानीय तहहरूले अपनाएका अभ्यास, पर्यटन प्रवर्द्धनमा सामुदायिक वन तथा प्रदेश सरकारको भूमिका जस्ता विषयमा पनि छलफल हुनेछ। साथै रेडियो कार्यक्रमलाई समुदायसँग जोड्दै डिजिटल प्रविधिको प्रयोगमार्फत सामग्री उत्पादन र प्रसारण गर्ने उपायबारे समेत विचार–विमर्श गरिने जनाइएको छ।

“सामुदायिक र निजी रेडियो दुवै संकटमा छन्,” देवकोटाले भन्नुभयो, “यसलाई जोगाइराख्न समुदायसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन।” समुदायमै पुगेर समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ।

“रेडियो कसरी बचाउन सकिन्छ भन्ने प्रश्नमा हामी गम्भीर रूपमा लागिपरेका छौँ,” वरिष्ठ उपाध्यक्ष देवकोटाले थप्नुभयो।

सम्मेलनमा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन अमार्क (AMARC) का एसिया–प्यासिफिक क्षेत्रीय अध्यक्ष राम भाट, निर्देशक सुमन बस्नेत, दक्षिण एसिया ब्लकका उपाध्यक्ष सुवास खतिवडालगायत करिब ३०० सामुदायिक रेडियो सञ्चालकहरूको सहभागिता रहने अनुमान गरिएको छ। सम्मेलनले अन्त्यमा ‘चितवन घोषणापत्र’ जारी गर्ने जनाइएको छ।

Facebook Comments Box