पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
म्याग्दी, २६ मङ्सिर – धवलागिरि गाउँपालिका–४ अन्तर्गत पर्ने रमणीय मुदीगाउँ पछिल्ला वर्षमा पर्यटकको ध्यान आकर्षित गर्न थालेको छ। गुर्जा र धवलागिरि हिमालको दृश्य पृष्ठभूमि, भिरालो पाखामा भएका परम्परागत ढुङ्गे घर, गाउँभित्रका चिटिक्क परेका गल्ली तथा मगर समुदायको सांस्कृतिक पहिचान मिलेर मुदी एक आकर्षक गन्तव्यका रूपमा उभिइएको छ।
वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार प्रचारप्रसारको कमीले लामो समय ओझेलमा परेको मुदीमा हाल पर्यटन पूर्वाधार विस्तारसँगै आगन्तुकको आवागमन बढ्ने अपेक्षा गरिएको छ। “संसारकै सातौँ अग्लो धवलागिरि हिमाल यही वडाभित्र पर्दछ,” घर्तीले भन्नुभयो, “हामी पूर्वाधार र प्रवर्द्धन दुवै क्षेत्रमा सक्रिय छौँ।”
नेपाल पन्छीविद् सङ्घको अध्ययनअनुसार मुदी र नजिकैको दर गाउँ चिरकालिजको महत्वपूर्ण बासस्थान हो। अनुसन्धानकर्ता विराट रजकका अनुसार एक वर्षअघिको अध्ययनमा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए।
मुदीभित्र ढल व्यवस्थापनसहित ढुङ्गा बिछ्याएर बनाइएका गल्लीले गाउँलाई आकर्षक बनाएको छ। गाउँ र आसपासको हिमाल अवलोकनका लागि वडा कार्यालय नजिकै भ्यु–प्वाइन्ट निर्माण गरिएको छ। त्यहाँबाट म्याग्दी, गुर्जा तथा दरखोला र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
समुद्री सतहदेखि करिब २,५०० मिटर उचाइमा अवस्थित मुदीमा प्रमुख रूपमा मगर समुदाय बसोबास गर्छन्। पुरख्यौली नाच, मादले, मारुनी, सालैजो तथा स्थानीय गीतले पाहुनालाई स्वागत गर्ने परम्परा आज पनि जीवित छ। मुदीदेखि धवलागिरि चक्रीय तथा गुर्जा हिमाल पदयात्रा मार्ग जोडिने भएकाले पदयात्रीका लागि पनि यो स्थान आकर्षक मानिन्छ।
यहाँ हिउँदमा बेँसी र बर्खामा लेकमा सर्ने गोठालाको जीवनशैली, वैशाख–जेठमा यार्सागुम्बा तथा असोज–कात्तिकमा च्याउ सङ्कलन जस्ता गतिविधि अध्ययनका दृष्टिले रोचक मानिन्छन्। मुदी बेनी बजारदेखि जिपमा तीन घण्टा तथा मोटरसाइकलमा दुई घण्टा यात्रामा पुगिन्छ। गाउँमा घरबास (होमस्टे) सञ्चालनमा आएसँगै पाहुनालाई स्थानीय खानाको स्वाद चखाइन्छ।
होमस्टे सञ्चालक गौबहादुर राम्जालीका अनुसार सडक विस्तार तथा जलविद्युत् आयोजनाका कामसँगै आगन्तुकहरूको आगमन बढेको छ। धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार मुदी–मुना क्षेत्रमा दुर्लभ वन्यजन्तु र पन्छी भेटिने भएकाले वातावरणमैत्री पर्यटनका लागि ठूलो सम्भावना छ। धवलागिरि आरोहण दिवस पनि यही क्षेत्रमा मनाउन सम्बन्धित निकायलाई पहल गरिएको उनले बताए।

