नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज, २२ मङ्सिर – निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न सरकारले चासो देखाउनुपर्ने जनाएको छ। नेपालगञ्जस्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले आइतबार अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै विगत दशकदेखि यस उडानका लागि निरन्तर पहल हुँदै आए पनि परिणाम नदेखिएको बताएका हुन्।

धामीका अनुसार सिधा उडान सञ्चालन भएमा स्थानीय व्यापार, उद्योग, पर्यटनसहित समग्र आर्थिक गतिविधिमा ठूलो चलायमानता आउनेछ। आवश्यक पूर्वाधार तयार भइसकेकाले सरकारले नीतिगत र कार्यान्वयन पक्षमा पहल गर्नुपर्ने उनको माग छ।

अर्थमन्त्री खनालले भने अहिलेको सरकार विशेष परिस्थितिमा बनेको भएकाले मनचाहा कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ रहेको स्पष्ट पारी आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार बनेपछि मात्र दीर्घकालीन निर्णय सम्भव हुने बताए।

“हामीबाट राजनीतिक वातावरण बिग्रने वा निर्वाचन प्रभावित हुने काम नगर्नेछौं,” खनालले भने। कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर उच्च भएको र तस्करी बढेका कारण नेपाली व्यवसायी मारमा परिरहेको उल्लेख गर्दै सुधारको माग गरे। nसङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट हुने ठूलो भन्सार चुहावट रोक्न सरकार गम्भीर हुनुपर्ने बताउँदै विभिन्न माग समेटिएको २१ बुँदे ज्ञापनपत्र बुझाएका थिए।

Facebook Comments Box