चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ, २० मंसिर – अत्यधिक चिसो बढेपछि माथिल्लो मुस्ताङको दैनन्दिन जनजीवन कष्टकर बनेको छ। दिउँसो घाम लाग्दा केही न्यानो महसुस हुने गरे पनि बिहान–बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म झर्दा स्थानीयबासी, कर्मचारी तथा सुरक्षा निकायको दैनन्दिन गतिविधि प्रभावित भएको छ।

लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयका सेफ्टी ट्याङ्की र साना नदी–खोल्सामा समेत हिउँ जम्ने अवस्था आएको छ। “धाराबाट पानी झर्न छाडेको छ। दिनमा घाम लाग्दा कुलोको पानी तताएर मात्रै प्रयोग गर्नुपर्ने भएको छ,” वडाध्यक्ष गुरुङले बताए।

चिसो बढेसँगै छोसेरमा खानेपानीका तीन ट्याङ्की आलोपालो मात्र सञ्चालन गर्न थालिएको छ। यस वर्ष कात्तिकमै चिसो बढेपछि धेरै स्थानीय पहिला नै बेसी झरेका छन्। गत वर्ष नाका बन्द हुँदा सबै नागरिक तल झरेको भए पनि यो वर्ष व्यापारिक गतिविधि सक्रिय रहेकाले करिब ३०० जना स्थानीय गाउँमै बसेका छन्।

पर्यटन व्यवसाय पनि चिसोले प्रभावित बनेको छ। लोमान्थाङमा सञ्चालनमा रहेका करिब दुई दर्जन होटलमध्ये अधिकांश बन्द भइसकेको पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसोको कारण आगामी एक साताभित्र सबै होटल बन्द भई व्यवसायी तथा स्थानीय दुई महिनाका लागि बेसी झर्ने तयारीमा छन्।

लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले सिँचाइ कुलो जमेर पग्लिँदा अचानक पानी बगेर विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको मुहानसमेत बन्द गरिएको बताए। चिसोका कारण स्थानीय क्षेत्रमा अधिकांश विकास तथा निर्माणका काम पनि रोकिएका छन्।

तर, अत्यधिक चिसोका बाबजुद माथिल्लो मुस्ताङका प्रहरी एकाइ भने यथास्थानमै बस्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। कोराला नाका र भन्सार कार्यालय सञ्चालनमा रहेकाले सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी एकाइ बेसी झार्ने योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। “भारी हिमपातजस्ता विषम अवस्था सिर्जना भए मात्र एकाइ तल झर्ने सम्भावना हुन्छ,” उनले स्पष्ट पारे।

Facebook Comments Box