ललितपुर महानगरद्वारा ८५ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
ललितपुर, २० मङ्सिर – विश्व स्वयंसेवक दिवसको अवसरमा ललितपुर महानगरपालिकाले ८५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विशेष सम्मान गरेको छ। ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने नारासहित शुक्रबार आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रममार्फत सम्मान प्रदान गरिएको हो।
महानगरका प्रमुख चिरीबाबु महर्जनले २९ वटै वडाबाट छानिएका २९ उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक तथा एक उत्कृष्ट टीभी–ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मान गर्नुभयो। साथै लामो समय सेवा गरेर अवकाश प्राप्त ६ स्वयंसेविका र २० उत्प्रेरकलाई समेत नगद एक–एक लाख रुपैयाँ सहित सम्मान प्रदान गरिएको थियो।
समारोहमा महर्जनले महिला स्वयंसेविकाको समर्पण र मेहनतका कारण ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गरिरहेको बताउनुभयो। उहाँले तीन महीनाभित्र स्वास्थ्य स्वयंसेविकासम्बन्धी समस्या समाधानका लागि कार्यविधि बनाइने प्रतिवद्धता जनाउनुभयो।
सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरले मानव संसाधन, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरेको काम देशभरका स्थानीय तहका लागि अनुकरणीय भएको टिप्पणी गर्दै दुई नगरबीचको सहकार्य अझै प्रभावकारी हुने बताए। कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा महानगर प्रवक्ता राजु महर्जनले आगामी वर्षदेखि सबै वडामा आवश्यक सामग्री र सुविधा उपलब्ध गराएर स्वास्थ्य सेवा वितरण सुधारिने बताए।
महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ तथा जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियताले मातृ–शिशु मृत्यु दर घटाउनेदेखि स्वास्थ्य सूचक सुधार्न महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा व्यक्त गरे।

