निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल

काठमाडौँ, १० मङ्सिर – निजामती सेवाको साख अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, प्रभावकारी सेवाप्रवाह र नतिजामुखी प्रशासन निर्माण आफ्नो प्रमुख लक्ष्य हुने बताउनुभएको छ।

काठमाडौँमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै उहाँले चुनौतीपूर्ण अवस्थामा आएको जिम्मेवारीलाई पूर्ण निष्ठा र निष्पक्षतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो।

मुख्यसचिव अर्यालले संविधान तथा प्रचलित कानुनअनुसार निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रशासन विकास गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै निजामती सेवाले जनविश्वास गुमाउँदै गएको अवस्थामा आमूल सुधार गर्न नेतृत्व तह स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिक प्रभाव, सरुवा–बढुवामा अस्वच्छ प्रतिस्पर्धा, ढिलासुस्ती र गैरजिम्मेवारी कार्यशैलीले प्रशासनिक संयन्त्रको छवि कमजोर बनेको उल्लेख गर्दै “अब झुलाउने, पर्खाउने र काम पन्छाउने प्रवृत्तिलाई ठाउँ नहुने” स्पष्ट सन्देश दिनुभयो।

आगामी फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु र भ्रष्टाचारमुक्त सुशासन कायम गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै मुख्यसचिवले प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायबीच सुदृढ समन्वय आवश्यक रहेको बताउनुभयो।

सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउन अनलाइन सेवा एकीकृत गर्ने, सरकारी निकायबीच कागजात पुनःपेश गर्न नपर्ने व्यवस्था लागू गर्ने, कार्यसम्पादनको वस्तुगत मूल्यांकनबाट प्रोत्साहन–सजाय प्रणाली कडाइका साथ लागू गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने उहाँको भनाइ थियो।

उहाँले विकास निर्माणका अवरोध पहिचान गरी समाधानमा जोड दिने, पूँजीगत खर्च बढाउने, जेन–जी आन्दोलनले उठाएका सुशासनका मागलाई संस्थागत बनाउने तथा प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने पनि बताउनुभयो।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मंत्रिपरिषद् कार्यालयलाई ‘उत्कृष्टताको केन्द्र’ बनाउँदै अनुगमन तथा कार्यप्रगतिमा कडाइ गर्ने, कर्मचारीको क्षमता विकास, नैतिकता प्रवर्द्धन र नेतृत्व विकासमा विशेष ध्यान दिने योजनासमेत प्रस्तुत गर्नुभएको छ।

“निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो। हामी सबल, सक्षम, पारदर्शी र परिणाममुखी भएर अघि बढ्यौं भने जनताको भरोसा पुनःस्थापित हुन्छ,” मुख्यसचिव अर्यालले भन्नुभयो।

Facebook Comments Box