‘जेनजी’ पुस्ताका माग सम्बोधन नगरी विश्वसँग जोडिन कठिनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, ७ मङ्सिर – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीति पुनःसंरचना नभएसम्म देशले विश्वसँग कदम मिलाएर अघि बढ्न नसक्ने टिप्पणी गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीको बृहत् एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै उनले ‘जेनजी’ पुस्ताले उठाएका माग र आकांक्षा सम्बोधन गर्दै नयाँ राजनीतिक गतिमा अघि बढ्नुपर्नेमा जोड दिए।

देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै उनले सबै पक्षको सहयोग र सकारात्मक सहभागितामार्फत मात्र स्थिरता र सहज अवस्था निर्माण गर्न सकिने बताए।

व्यक्तिको निजता र सामाजिक पक्ष दुवैलाई सन्तुलनमा राखेर प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने उनले सुझाए। पार्टीका अगुवा नेता रहँदै आएका भट्टराईले नयाँ दलमा आफू अभिभावकको भूमिकामा रहने र कार्यकारी तहका नेतृत्वलाई सल्लाह–सहयोग गर्ने प्रतिबद्धता जनाए।

पूर्वमन्त्री राम कार्कीले चुनाव नभए पनि नवगठित पार्टीको अभियान निरन्तर चलिरहने बताएका छन्। शिक्षा, यातायात, कृषि लगायतका क्षेत्रमा आमूल नीति परिवर्तन ल्याउन पार्टी प्रतिबद्ध रहेको उनले बताए।

कार्कीले ‘जेनजी’ पुस्तालाई विचार र क्षमतामा सशक्त भएर पुरानो नेतृत्वलाई प्रतिस्थापन गर्ने साहस गर्न सुझाव दिए। मार्क्सवाद आत्मआलोचना र निरन्तर सुधारको सिद्धान्त भएको उल्लेख गर्दै उनले यस्तो गुण नभएका व्यक्तिलाई मार्क्सवादी ठहरिन नसक्ने टिप्पणी गरे।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै राष्ट्रिय विकास प्राधिकरण गठन, भ्रष्टाचारविरुद्ध महाअभियान, र बोली–व्यवहारमा एकरूपता जस्ता विषयहरू प्राथमिकतामा राखिएको जानकारी दिए।

त्यसैगरी, पूर्वमन्त्री सुदन किरातीले आफ्नो दलले पुरानो ‘कम्युनिष्ट खोल’ त्यागेर मौलिक सिद्धान्त र गुदी लिएर अघि बढेको दाबी गरे। देशका सबै वर्ग–समुदायको वास्तविक रूप अब नयाँ दलमै प्रतिबिम्बित हुने उनको धारणा थियो।

पार्टी घोषणा सभामा अध्यक्षता गरेका नेता सन्तोष परियारले नयाँ सोच, गति र ऊर्जाका साथ काम गर्न चाहनेहरूलाई समेटेर संगठन विस्तार गरिने बताए।

Facebook Comments Box