बारीभरि किवी पाक्दा किसान खुशी

गोरखा, ६ मङ्सिर – उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतमा बारीभरि किवी पाक्न थालेसँगै किसान उत्साहित छन्। गत वर्ष किवी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल किसानहरूले यस वर्ष अझ बढी आम्दानीको अपेक्षा गरेका छन्। स्थानीय किसान वीरबहादुर गुरुङका अनुसार गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किवी खेती गरिरहेका छन्।

“कसैले एक–दुई रोपनीमा, कसैले १२–१३ रोपनीमा समेत किवी लगाएका छन्,” उहाँले भन्नुभयो, “मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्विन्टल बेचेको थिएँ। यस वर्ष उत्पादन अझ राम्रो छ।” गाउँका किसानले एक क्विन्टलदेखि १२–१५ क्विन्टलसम्म किवी उत्पादन गर्ने गरेको उहाँको भनाइ छ।

गाउँमै सबैभन्दा पहिले किवी खेती सुरु गर्ने कामीराम गुरुङले पनि दुई रोपनीमा किवी फलाएका छन्। गत वर्ष एक क्विन्टल बिक्री गरेकाले यसपटक त्यसभन्दा बढी बेच्ने उनको लक्ष्य छ। हावापानी सुहाउँदो भएकाले विगत आठ वर्षदेखि व्यवसायिक रूपमा किवी खेती गर्दै आएका उनले बजार अब सहज भएको तर बाटो बिग्रिएको गुनासो गरे।

“गत वर्ष व्यापारीसँग सम्पर्क भएपछि बजारको समस्या रहेन,” कामीराम गुरुङ भन्छन्, “तर बेमौसमी वर्षापछि आएको पहिरोले बाटो नै अवरुद्ध भयो। दुई पटक मर्मत गरे पनि कात्तिकको सुरुवातमा आएको पहिरोले फेरि बिगार्यो। डोकोमा बोकेर बजार पुर्‍याउनै कठिन छ।” उनका अनुसार २०७४ सालमा फेज नेपाल नामक संस्थाको सहयोगमा किवी खेती सुरु गरेपछि गाउँका धेरै किसान त्यसतर्फ आकर्षित भएका हुन्।

अहिले अधिकांशको बारीमा किवी लटरम्मै फलेको छ। किसानको उत्पादन बजारसम्म पुर्‍याउन बाटो नै मुख्य चुनौती भएको वडाध्यक्ष सरोज गुरुङले बताए। “हामीले सकेसम्म सडक मर्मत गर्ने प्रयास गरिरहेका छौँ,” उहाँले भने, “पहिले पनि दुई पटक मर्मत गरिसकिएको छ, फेरि पनि बनाउनेछौँ।”

Facebook Comments Box