आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ, ४ मङ्सिर – बालबालिकाका आवाज सुन्ने, उनीहरूको अधिकार प्रवर्द्धन गर्ने र अधिकारमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित आज विश्वभर विश्व बाल दिवस मनाइँदै छ। सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले बालअधिकार संरक्षणमा सक्रिय भूमिका निभाउनुपर्नेमा विभिन्न कार्यक्रममार्फत जोड दिइएको छ।

सन् १९८९ को यो दिनै बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरिएको स्मरणमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को नेतृत्वमा विश्वका सबै देशमा विभिन्न सचेतना तथा सहभागितामूलक कार्यक्रम संचालन हुने गर्छन्।

युनिसेफले यस अवसरमा सबैलाई बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानता र सहभागितालाई सुनिश्चित गर्न सक्रिय भूमिका लिन आह्वान गरेको छ। साथै, सरकार, अभिभावक र समाज सबैले मिलेर बालमैत्री वातावरण निर्माण गर्नुपर्ने सन्देश दिएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि बालबालिकाका आवाजलाई प्राथमिकता दिएर सम्बोधन गर्न विश्व समुदायलाई आग्रह गरेका छन्।

यसै दिन अफ्रिका औद्योगिकीकरण दिवस पनि मनाइन्छ। अफ्रिकाको दिगो, समावेशी र प्रभावकारी औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घले यो दिवसलाई विशेष महत्व दिएको छ। अफ्रिकी मुलुकहरूमा उत्पादन क्षमता वृद्धि, रोजगारी सिर्जना, आर्थिक विविधीकरण तथा गरीबी न्यूनीकरणलाई प्रमुख एजन्डाका रूपमा प्रस्तुत गर्न यो दिवस उपयोग हुँदै आएको छ।

Facebook Comments Box