बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत

काठमाडौँ, ३ मंसिर – लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। करिब रु ९३ अर्ब ४० करोड बराबरको लागतमा निर्माण हुने परियोजनाका लागि विकास सम्झौता (PDA) गर्न वार्ता समिति गठन गर्ने निर्णय बैठकले गरेको हो।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बोर्डको ६७औँ बैठकले उक्त परियोजना अघि बढाउने निर्णयसँगै गत आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा र चालु वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना समेत स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

त्यसैगरी, तल्लो अरुण जलविद्युत् परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा पारित गरी अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अधिकार प्रदान गरिएको छ।

अरुण–३ (९०० मेगावाट) जलविद्युत् परियोजनाको प्रत्यक्ष सम्झौता स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरिएको छ। पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको अवधि पनि थप गरिएको छ।

बोर्डले ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङले नआव्हान गरेको अवस्थामा प्रस्तुत अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (लगानी करिब रु १६ अर्ब) विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न समझदारी गरी सर्वेक्षण अनुमतिपत्र जारी गर्ने अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरेको छ।

यसबाहेक, चालु आर्थिक वर्षका लागि आवश्यक सेवा तथा पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने र सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

Facebook Comments Box