राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने

काठमाडौँ, १ मंसिर – नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार विभिन्न कोषका लागि आवश्यक विनियोजन गरेपछि बाँकी रकममध्ये ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ। प्रतिवेदनअनुसार आव २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ बमोजिम बैंकले आफ्नो वासलात, आय–व्यय तथा अन्य वित्तीय विवरण समावेश गरी वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष सकिएको चार महिनाभित्र नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

Facebook Comments Box