‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

भोजपुर, ३० कात्तिक – वर्षौंदेखि काठको फड्केबाट जोखिम मोलेर खकुवाखोला तर्दै आएका स्थानीयवासी अब झोलुङ्गे पुल बनेपछि सहज भएको बताउँछन्। षडानन्द नगरपालिका–७ र ११ लाई जोड्ने ८० मिटर लामो यो पुल निर्माणसँगै स्थानीयको दीर्घकालीन समस्या अन्त्य भएको हो।

बर्खामा खोला उर्लिँदा तर्न नसक्दा खेतमै बस्नुपर्ने अवस्था आउने गरेको उल्लेख गर्दै स्थानीय चतुरमाया मगरले अब जोखिमपूर्ण यात्राबाट मुक्ति मिलेको बताइन्। “पहिले खेतीमा आउँदा उर्लिँदो भेल तरेर जानुपर्थ्यो, अब भने सुरक्षित छु,” उनले भनिन्।

“खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ,” चतुरमायाले थपिन्, “पहिलेको काठे फड्के ठूलो पानी परेपछि बग्थ्यो, अहिले पुलले धेरै सहज बनाइदिएको छ।” स्थानीय दीपबहादुर मगरका अनुसार पनि पुल बनेसँगै आवतजावत अत्यन्त सरल भएको छ। विशेषगरी वर्षायाममा धेरै कठिनाइ हुने गरेको भन्दै उनले पुलले दुवै वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए।

रु ४८ लाख १२ हजार ८२५ लागतमा निर्माण सम्पन्न गरिएको सो पुलबारे निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए। स्थानीयको माग र आवश्यकता हेरी पुल निर्माण अघि बढाइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। उनका अनुसार नगरपालिकाभित्र आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क संकलन गरी योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाइँदै छ।

Facebook Comments Box