गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु
गुल्मी, २७ कात्तिक – रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार आजदेखि नियमित रूपमा हप्तामा चार दिन उडान सञ्चालन हुने भएको हो।
विगत पाँच महिनादेखि निगमको ट्वीनअटर जहाज बिग्रिएको कारण रेसुङ्गामा हप्तामा एक पटक बिहीबारमात्र उडान हुँदै आएको थियो। अहिले जहाजको मर्मतसम्भार सम्पन्न भएपछि पुनः नियमित उडान तालिका लागू गरिएको प्रमुख थापाले जानकारी दिनुभयो।
अब नेपाल वायुसेवा निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चार पटक काठमाडौँ–रेसुङ्गा–काठमाडौँ हवाई सेवा सञ्चालन गर्नेछ।
१९ सिट क्षमताको ट्वीनअटर जहाज काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे उडान भर्नेछ। निगमले काठमाडौँबाट गुल्मीका लागि रु ७,५०० र गुल्मीबाट काठमाडौँका लागि रु ७,३०० भाडादर निर्धारण गरेको छ।
निगमका अनुसार रेसुङ्गा विमानस्थलमा दिउँसो अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गर्नुपरेको हो।

