सिमकोट चार दिनदेखि अन्धकारमा, हिल्दुम जलविद्युत् अवरुद्ध
हुम्ला, २७ कात्तिक – हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि विद्युत् आपूर्तिविहीन बनेको छ। सदरमुकाममा विद्युत् वितरण गर्दै आएको हिल्दुम जलविद्युत् केन्द्रमा आएको खराबी मर्मत हुन नसक्दा सम्पूर्ण क्षेत्रमा अन्धकार छाएको हो। अन्य वैकल्पिक विद्युत् स्रोत नहुँदा सरकारी तथा निजी क्षेत्रका कामहरू प्रभावित भएका छन्।
केही कार्यालयमा ‘सोलार’ जडान गरिएको भए पनि हिउँदको मौसममा घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्नसमेत समस्या भइरहेको छ। “मोबाइल र ल्यापटप चार्ज गर्न नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत कठिनाइ भएको छ,” सञ्चारकर्मी नरजङ तामाङले बताउनुभयो।
हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले आपूर्ति बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द मर्मत स्थलमै पुगेर आवश्यक निर्देशन दिनुभएको छ।
उहाँका अनुसार शनिबारसम्म विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने लक्ष्यसहित मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। त्यसैगरी, मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको मर्मत कार्य पूरा भएको केन्द्रले जनाएको छ।

