आज घटस्थापना बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको शुभ साइत

काठमाडौँ, २१ असोज – वडा दसैं पर्व आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ। घरको पूजा कोठामा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। हिन्दू धर्मावलम्बी नेपालीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ पर्व मनाउँछन्।

आज बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापनाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ, गहुँ, धान, मकै जस्ता अन्न छरेर विधिपूर्वक जमरा राख्ने परंपरा छ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसादको रुपमा जमरा ग्रहण गरिन्छ। यस वर्ष दशैंको टीका असोज २९ गते शुक्रबार परेको छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ।

नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गर्ने धार्मिक परंपरा छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा पशु बलिसहित विशेष पूजा गछन्। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने गर्छन्। यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन्।

Facebook Comments Box