वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन हुने

काठमाडौँ, १४ कात्तिक – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नयाँ महाप्रबन्धक अब खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट चयन हुने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले योग्य उम्मेदवार सिफारिसका लागि सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति गठन गर्नुभएको हो ।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा र मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य–सचिवका रूपमा रहनेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।

नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमका वरिष्ठतम् उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकका रूपमा काम गर्ने भएका छन् ।

त्यसैगरी, अर्को व्यवस्था नभएसम्म निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विक्रम राईले सम्हाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

Facebook Comments Box