पदयात्रामा निस्कनु अघि मौसम जानकारी लिन सरकारको आग्रह

काठमाडौँ, १० कात्तिक – सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रतर्फ पदयात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानेहरूलाई पूर्वसूचना र ‘अलर्ट’ प्रणालीको जानकारी प्राप्त गर्न, लेक लाग्ने जोखिमबारे सचेत रहन तथा आवश्यक पूर्वतयारी पूरा गर्न अनुरोध गरेको हो।

प्राधिकरणले लेक लागेमा यात्रा तत्काल रोक्ने, तलतिर झर्ने र उपचार प्रक्रियामा लाग्ने सल्लाह दिएको छ। साथै, एक्लै यात्रामा ननिस्कन पनि आग्रह गरिएको छ। पछिल्ला दुई दिन (कात्तिक ८ र ९)मा मनाङ र कास्कीमा लेक लागेर चार जनाको मृत्यु भएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्दै प्राधिकरणले लेक लागेर बिरामी परेकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, बङ्गालको खाडी र अरब सागरमा बनेका दुई न्यून चापीय प्रणालीका कारण मङ्गलबारदेखि शुक्रबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको र यसबारे सूक्ष्म विश्लेषण भइरहेको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box