प्रकृति संरक्षणमा नौ हजार सेना खटिए

काठमाडौँ, ८ कात्तिक – नेपाली सेनाले देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि नौ हजार ४६ जना सैनिक जनशक्ति परिचालन गरेको छ।

सेनाका युद्धकार्य निर्देशक मनोज थापाका अनुसार सेनाले हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक शिकार आरक्षमा सुरक्षात्मक तथा संरक्षण गतिविधि सञ्चालन गर्दै आएको छ।

यसका लागि आठ वटा गण, दुई वटा वन तथा वातावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मलाई जिम्मेवारी दिइएको छ। सेनाले चालु आर्थिक वर्षमा मात्र विभिन्न निकुञ्ज र आरक्षण क्षेत्रबाट ४२ नाल हतियार, १,९७६ वटा जाल–पासो, १,९६५ घरेलु औजार, ३३५ सवारीसाधन र १६ ओखोटोपहार बरामद गरेको जानकारी दिएको छ।

सेनाको सुदृढ सुरक्षा र निगरानीका कारण पछिल्ला १५ वर्षमा नेपालमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार देशभर ३५५ बाघ र ७५२ गैँडा रहेका छन्।

सन् २००९ को गणनामा बाघको सङ्ख्या १२१ र सन् २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० मात्र थियो। संरक्षणका क्रममा ११६ जना सैनिकले ज्यान गुमाएका र चालु आर्थिक वर्षमा मात्र ५ जना सैनिक घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले प्राकृतिक स्रोत–साधन संरक्षणसँगै नेपालको हिमाली सौन्दर्य जोगाउन पछिल्ला वर्षहरूमा वार्षिक हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ।

Facebook Comments Box