एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

मुस्ताङ, ८ कात्तिक – धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङमा एकैदिन झण्डै सात हजार पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ८५९ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्।

तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्ग यात्रुवाहक सवारीसाधनले खचाखच भरिएको थियो। मुक्तिनाथ दर्शन तथा मुस्ताङको प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आउनेको भीडले राजमार्ग पूरै व्यस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) छिरिङ किप्पा लामाले जानकारी दिनुभयो।

उनका अनुसार शुक्रबार एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। सोही दिन २ हजार १६८ सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका थिए।

कात्तिकको पहिलो सातामै २० हजार ५०९ जना पर्यटक मुस्ताङ पुगेका छन्, जसमा १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी रहेका छन्। यस अवधिमा ६ हजार ७३६ सवारीसाधन मुस्ताङ प्रवेश गरेको प्रहरी तथ्याङ्कले देखाउँछ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १ लाख १८ हजार ५८९ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। तीमध्ये ९१ हजार १२५ जना आन्तरिक र २७ हजार ४६४ जना विदेशी रहेका थिए।

मुक्तिनाथमा दर्शनार्थीको चाप अत्यधिक बढेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो। “आज बिहानैदेखि मन्दिर परिसर पूरै दर्शनार्थीले भरिएको छ। दर्शनका क्रममा सुरक्षा र भीड व्यवस्थापनका लागि स्वयंसेवक र सुरक्षाकर्मी खटाइएको छ,” गुरुङले बताउनुभयो।

हिउँदयाम सुरु भइसकेकाले चिसो बढ्न थालेको र हाइअल्टिच्युडको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र उच्चस्थान उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको समितिले जनाएको छ। मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी पनि सुदृढ पारिएको छ।

आन्तरिक पर्यटकको भीडसँगै ट्राफिक व्यवस्थापनमा समस्या देखिएको प्रहरीले जनाएको छ। सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा गुड्दा ट्राफिक जामसमेत भएको थियो।

उद्योग वाणिज्य सङ्घ मुस्ताङका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार जिल्लाका करिब ३०० होटल पर्यटकले भरिएका छन्। उनले भने, “चाडपर्वको लामो बिदामा परिवार, विद्यार्थी, कर्मचारी र विदेशबाट फर्किएका नेपालीको मुख्य गन्तव्य मुस्ताङ बन्न थालेको छ।”

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज बन्दै गएसँगै यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आएको स्थानीय व्यवसायीहरूले बताएका छन्। प्रहरीले चाडपर्वको समयमा मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई पहिले नै होटल बुकिङ गरी मात्र यात्रा गर्न आग्रह गरेको छ।

Facebook Comments Box