शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस् : अध्यक्ष ओली
काठमाडौँ, २ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोसहित शंका लागेका सबैको सम्पत्ति निष्पक्षरूपमा छानबिन गर्न माग गर्नुभएको छ।
प्रेस चौतारी नेपालद्वारा आज काठमाडौँमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उहाँले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै सुशासन र पारदर्शिताका पक्षमा सदैव अडिग रहेको स्पष्ट गर्नुभयो।
अध्यक्ष ओलीले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासनको स्थापनाका लागि जेनजी समूहले अघि सारेको शान्तिपूर्ण आन्दोलनमा बाह्य घुसपैठका कारण धनजनको क्षति भएको उल्लेख गर्नुभयो।
“म सत्य स्थापित होस् भन्ने चाहन्छु, आवेग वा आक्रोशमा होइन,” उहाँले भन्नुभयो, “प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ, र देशमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्छ। सत्यप्रतिको मूल्यबाट कहिल्यै विचलित भएको छैन।”
उहाँले सत्यको पक्ष लिनु अहंकार होइन भन्दै सो घटनाको वास्तविकता क्रमशः स्पष्ट हुने विश्वास व्यक्त गर्नुभयो। साथै, एमाले जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा सम्झौता नगरी अघि बढ्ने दृढता व्यक्त गर्नुभयो।
त्यस अवसरमा अध्यक्ष ओलीले निर्वाचनका लागि सहज वातावरण नभएको बताएका थिए र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा पार्टीको अडान दोहोर्याउनुभयो।

