सञ्चारमन्त्री खरेललाई ‘हरिप्रसाद–कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’

काठमाडौँ, ३० असोज – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद–कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ।

हरिप्रसाद–कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको नाट्य, सङ्गीत तथा सञ्चार सेवा सम्मान र पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई सो सम्मान प्रदान गरिएको हो। प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीले उहाँलाई दोसल्ला ओढाई ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो।

मन्त्री खरेललाई पत्रकारिता विशेषतः टेलिभिजन पत्रकारितामार्फत जनताको आवाजलाई सशक्त रूपमा मुखरित गर्दै जनहितका विषयमा पहरेदारी र पैरवी गरेको योगदानका आधारमा सम्मान प्रदान गरिएको हो।

अढाइ दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील खरेलले नेपाली पत्रकारितालाई नयाँ धार र दिशा प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। त्यसैगरी ‘हरिप्रसाद–कल्याणी रिमाल विशेष नाट्य–सङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र गायक धिरज राईलाई सम्मानित गरिएको छ।

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणी रिमालको नाममा स्थापित यो पुरस्कार संगीत, नाट्य र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रदान गरिँदै आएको हो।

सो अवसरमा मन्त्री खरेलले आफूलाई प्रदान गरिएको सम्मानले थप प्रेरणा र जिम्मेवारीको बोध गराएको बताउनुभयो। उहाँले भन्नुभयो, “म यहाँ मन्त्रीका रूपमा होइन, सञ्चारकर्मीका रूपमा आएको हुँ।

असोज ५ गतेसम्म सक्रिय सञ्चारकर्मी थिएँ, अहिले भूमिका फरक भएको मात्र हो। यो सम्मानले मलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको छ।”

साथै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनका मागअनुसारका कार्यहरू पूरा गर्न सरकार पूर्ण समर्पित रहने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको नागरिक सरकारले पाएको म्यान्डेट सफलतापूर्वक पूरा गर्न हामी अहोरात्र खटिनेछौँ।”

Facebook Comments Box