दसैँ लक्षित सामाजिक सुरक्षाभत्ता पाएपछि जुम्लाका ज्येष्ठ नागरिक खुसी

जुम्ला, १२ असोज – आसन्न दसैँलाई लक्षित गरी तिला गाउँपालिकाका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र एकल महिलासहितका लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतको भत्ता सबै लाभग्राहीको बैंक खातामा जम्मा गरेको पञ्जीकरण शाखा प्रमुख बखत हमालले जानकारी दिनुभयो। उहाँका अनुसार चाडबाड सजिलैसँग मनाउन सकून् भन्ने उद्देश्यसहित भत्ता वितरण गरिएको हो।

भत्ता पाएपछि स्थानीयलाई राहत भएको तिला–१ का नर रावतले बताए। गाउँपालिकाले स्थानीय बैंकसँग समन्वय गरेर भुक्तानी व्यवस्था गरेको हो।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार चाडबाडको बेलामा ज्येष्ठ र असक्त नागरिकलाई प्राथमिकता दिई भत्ता वितरण गरिएको छ। “नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचनात्मक कार्यक्रम अघि बढाइरहेको छ,”

अध्यक्ष रोकायाले भन्नुभयो। तिला गाउँपालिकामा हाल सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको सङ्ख्या तीन हजार १५२ रहेको जनाइएको छ।

Facebook Comments Box