गुल्मीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु, पाँच जना घाइते

गुल्मी, ९ असोज – गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लाग्दा चार वर्षीया बालिका रियासाको मृत्यु भएको छ। उनका बाबु २३ वर्षीय नेर सिंह विक र आमा २२ वर्षीया सुन्तली विक घाइते भएका छन्। घाइतेलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उक्त घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक रेवन्त वलीको कमाण्डमा टोली खटिएको थियो।

जिल्लाको अन्य स्थानमा पनि चट्याङले क्षति पुर्‍याएको छ। धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्ण प्रसाद पन्थी, इस्मा गाउँपालिका–४ की ४६ वर्षीया निर्मला खत्री र वडानम्बर–५ बेसारीकी २५ वर्षीया कालिका खत्री घाइते भएका छन्।

उनीहरूको तम्घास अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी, मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक जंगलमा परेको चट्याङले दुर्गा प्रसाद अर्यालका दुईवटा र चिरञ्जीवि अर्यालको एउटा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

Facebook Comments Box