नवरात्र तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, ८ असोज । बडा दसैँ तथा नवरात्रको तेस्रो दिन सोमबार देशभर चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै छ। नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष साधना गीत–संगीत क्षेत्रसँग सम्बन्धित मानिने भएकाले आजको दिन कलाकार र संगीत साधकले विशेष पूजा गर्ने चलन छ।
नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार देवी चन्द्रघण्टा शक्तिदायिनी र दुष्ट शक्तिको नाश गर्ने स्वरूपकी देवी हुन्। उनको स्वरूप शान्त, करुणामयी र पहेँलो वर्णको भएको उल्लेख पुराण तथा धर्मग्रन्थहरूमा पाइन्छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको आराधनाले पाप नाश हुने र भक्तजनलाई आन्तरिक शक्ति प्राप्त हुने विश्वास गरिन्छ। आजको दिन विशेष ध्यान गरेमा ललाटमा तेज प्राप्त हुने धार्मिक मान्यता छ।
यसअघि पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायत स्तोत्रहरूको पाठ गरिन्छ। नवरात्रमा नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। देशभरका शक्तिपीठ र मन्दिरहरूमा आज भक्तजनको भीड बढेको छ।

