काठमाडौँमा असोजको अन्तिम साता मात्र मेलम्चीको पानी आउने
काठमाडौँ, ६ असोज – उपत्यकावासीलाई यो वर्ष असोजको अन्तिम सातातिर मात्रै मेलम्चीको पानी उपलब्ध हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार लगातारको वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव अझै उच्च रहेकोले दसैँअघि पानी पठाउन सम्भव छैन।
उहाँले भने, “बहाव घटेपछि मात्र पानी ल्याउने तयारी छ। अहिले बहाव धेरै भएकाले वितरण सुरक्षित हुँदैन।” विसं २०७८ असार १ गते आएको बाढी–पहिरोले हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएपछि मेलम्चीको पानी हिउँदमा मात्र ल्याइने गरिएको छ। तर, हालैको भारी वर्षाका कारण फेरि ढिलाइ भएको हो।
मेलम्चीबाट सामान्यतया दैनिक १७–१८ करोड लिटर पानी काठमाडौँ पठाइन्छ। तर हाल मुहान बन्द हुँदा दैनिक ६–७ करोड लिटर पानी मात्रै रिबर्मा खोलाबाट आपूर्ति भइरहेको कार्यकारी निर्देशक दासले जानकारी दिए।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक माग करिब ४३ करोड लिटर छ। मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट जम्मा १३–१४ करोड लिटर मात्र आपूर्ति भइरहेको छ। यसले दशैँ अवधिमा पानीको अभाव अझै चर्किने संकेत देखिएको छ।

