दुर्गा पक्ष प्रारम्भ : बडादसैँको रौनक, आज घरघरमा घटस्थापना गरिदै
काठमाडौँ, ६ असोज – हिन्दुहरूको महान् पर्व बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने परम्परा अनुसार आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म अर्थात् १५ दिनसम्म धूमधामका साथ मनाइने गरिन्छ।
आज बिहानै नित्यकर्म सम्पन्न गरी घर–घरमा दियो, कलश र गणेश स्थापनासहित वैदिक विधिअनुसार घटस्थापना गरिएको छ। पूजा कोठा वा दशैँ घरमा देवी दुर्गाको आह्वान गरी नवरात्रको आरम्भ हुन्छ। नजिकको नदी वा शुद्ध स्थानबाट ल्याइएको माटो वा बालुवामाथि गाईको गोबरले लिपपोत गरिएको चोकमा यव (जौ) रोपिन्छ, जसलाई जमरा राख्ने भनिन्छ।
विजयादशमीको दिन यही जमरा टीकासहित प्रसादका रूपमा ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार परम्परागत विधिअनुसार जौ बाहेक अरु अन्न रोप्ने व्यवस्था छैन, तर कतिपय कुल परम्परामा अन्य अन्नसमेत मिसाइने प्रचलन छ।
समितिले तोकेको शुभसाइतअनुसार आज बिहान ९ः१३ बजे घटस्थापना गरिएको हो। सूर्योदयकालमा प्रतिपदा परेको दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो।
नवरात्रभर देवी दुर्गाका महाकाली (शक्ति), महालक्ष्मी (धन–धान्य) र महासरस्वती (विद्या) रूपलाई आह्वान गरी आराधना गरिन्छ। यिनै अवधिमा दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज जस्ता आसुरी प्रवृत्तिको वध गरेको स्मरण गरिन्छ। नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। यी नै नवदुर्गा हुन्।
विशेष दिनहरू
-
सातौँ दिन फूलपाती,
-
आठौँ दिन महाअष्टमी,
-
नवौँ दिन महानवमी (बलिपूजा),
-
दशौँ दिन विजयादशमी (टीका–जमरा)।
यस अवसरमा विभिन्न शक्तिपीठहरू जस्तै गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी, नाला भगवती र पलाञ्चोक भगवतीमा पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस वर्ष नवरात्र १० रात र ११ दिनको हुने भएको छ। विजयादशमी असोज १६ गते पर्छ। देवी विसर्जनको साइत बिहान ९ः२३ बजे तोकिएको छ भने टीका–जमरा ग्रहणको उत्तम साइत ११ः५३ बजे रहेको समितिले जनाएको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने र पूर्णिमाका दिन महालक्ष्मी व्रतसहित जाग्राम बसेर धन–ऐश्वर्यको कामना गर्ने धार्मिक परम्परा छ। घटस्थापनामा राखिएको जमरा यही दिन विसर्जन गरिन्छ। परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि आजै घटस्थापना गरी विशेष पूजा सुरु भएको छ। महानवमीका दिन त्यहाँ ५४ बोका र ५४ राँगासहितको बलि दिने प्रचलन छ।
दसैँलाई सत्यको असत्यमाथि विजय र दैवी शक्तिको प्रतीक पर्वका रूपमा मनाइन्छ। साथै रोजगारी, अध्ययन वा अन्य कामले घर बाहिर रहेका मानिसहरू यसै अवसरमा घर फर्की परिवारसहित पुनर्मिलन गर्ने भएकाले यसलाई पारिवारिक पर्व पनि मानिन्छ। धेरै शैक्षिक संस्थाहरूले आजैदेखि बिदा सुरु गरेका छन्।

