सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

काठमाडौँ, ४ असोज – अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई रु ९ अर्ब ८० करोड निकासा गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको लागि छुट्याइएको रकमलाई संशोधन गरी पहिलो त्रैमासमै निकासा गर्ने मन्त्रिस्तरीय निर्णय भएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ :

“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासमै कायम गरी विगत सात त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोधभर्ना उपलब्ध गराउने निर्णय भएको हो।”

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पाउन नसकेको गुनासो गर्दै आएको थियो। रकम निकासा भएपछि कर्जा विस्तारमा सहजता आउने मन्त्रालयको अनुमान छ।

सहुलियतपूर्ण कर्जाका मुख्य प्रावधान

  • कृषि तथा पशुपन्छी कर्जा : रु ५ करोडसम्म

  • महिला उद्यमशीलता तथा स्टार्टअप उद्यम कर्जा : रु २५ लाखसम्म

  • वैदेशिक रोजगारीबाट फर्केका तथा शिक्षित युवाका परियोजना कर्जा : रु २० लाखसम्म

  • प्राकृतिक विपद् पीडितको आवास निर्माण कर्जा : रु ५ लाखसम्म

सरकारले यस्ता कर्जाको ब्याज भुक्तानीका लागि निरन्तर अनुदान उपलब्ध गराउँदै आएको छ। यो निर्णयले बैंक तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाहमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box