सुन्धारा कारागारबाट भागेका दुई कैदी झापामा पक्राउ
झापा, २७ भदौ – काठमाडौँस्थित सुन्धारा कारागारबाट ‘जेनजी’ आन्दोलनका क्रममा फरार भएका दुई कैदी झापामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ की ५० वर्षीया अन्जली खातुन र मोरङ विराटनगर–३ का सुरज कामत रहेका छन्। दुवै जना लागूऔषध ओसारपसारमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए।
खातुनलाई सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा नजिकैबाट पक्राउ गरेको हो। उनी भारत भाग्न खोज्दै थिइन्।
त्यसैगरी, कामतलाई भारत–नेपाल सीमा नजिकै पेकटोला एसएसबी क्याम्प र टेढागाछ प्रहरीको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको हो। उनी पैदल र इ–रिक्सा प्रयोग गरी सीमामा प्रवेश गरेका थिए।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

