काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

काठमाडौँ, २७ भदौ – काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ आन्दोलनका क्रममा सडकमा छरिएका भग्नावशेष हटाउने काम सुरु गरेको छ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार ब्रुमर, फोहर व्यवस्थापन र पन्छाउने गरी करिब १०० गाडी परिचालन गरेर कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायतका सडक सफा भइसकेका छन्।

राईका अनुसार हाल सडक सफाइमा मात्र ध्यान दिइएको छ, कार्यालय र निजी घर सफा गर्न अझै समय लाग्नेछ। जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले उपत्यकास्थित प्रहरी कार्यालय, सार्वजनिक भवन र निजी सम्पत्तिमा क्षति पुर्‍याएको र ती स्थानको पूर्ण व्यवस्थापन गर्न समय लाग्ने उनको भनाइ छ।

यसैबीच, महानगरपालिकाले सिसाजन्य र हानिकारक फोहर व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Facebook Comments Box