बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर, १६ भदौ – आइतबार रातिदेखिको अविरल वर्षापछि कञ्चनपुरका विभिन्न ठाउँमा बाढी पसेर ४५ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा परेका छन् । त्यस्तै, दोधारा चाँदनी–३ पटराखल्लाका १५ घर र भीमदत्त नगरपालिका–११ भुजेलाका पाँच घर डुबानमा परेको छ ।

बाढीका कारण दोधारा चाँदनी नगरपालिका–८ का ७० जना विस्थापित भई नजिकैको विद्यालयमा राखिएको छ । पटराखल्लाका ५५ जना स्थानीय, उनीहरूको सरसामान तथा चौपाया समेतलाई जमुना आधारभूत विद्यालयमा सारिएको प्रहरीले जनाएको छ ।

महाकाली नदीमा जलस्तर वृद्धि

लगातारको वर्षासँगै महाकाली नदीमा पानीको सतह उच्च भएको छ । डीएसपी बोहराका अनुसार नदीको बहाव एक लाख ४० हजार २५० क्युसेक पुगेको छ ।

एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आवागमन रोक्ने गरेको र अहिले पनि रोकिएको जनाइएको छ । प्रहरीले प्रभावित बस्तीमा उद्धार र राहत कार्य जारी रहेको जनाएको छ ।

Facebook Comments Box