गोरखाका पालिकाहरूले सहरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण सुरु

गोरखा, १३ भदौ – गाउँलेहरूको ठूलो संख्यामा बसाइँसराइ भएपछि गोरखाका पालिकाहरूले सामाजिक सुरक्षाभत्ता सेवाग्राही खोज्दै सहरमै घुम्ती शिविर सञ्चालन गर्न थालेका छन् । बारपाक सुलिकोट, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले काठमाडौँ, चितवन र गोरखा बजारमै पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नवीकरणका शिविर सञ्चालन गरेका हुन् ।

सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार साउन ३० देखि भदौ २ गतेसम्म काठमाडौँमा घुम्ती शिविरमार्फत २५० जनाले सेवा लिए भने चितवनमा अहिले चलिरहेको शिविरबाट करिब ३०० जनाले लाभ लिने अनुमान छ । “वृद्धवृद्धा सहरमा बसोबास गर्ने भएकाले गाउँमै फर्काउनुभन्दा उतै पुगेर सेवा दिनु सजिलो भएको हो,” अर्यालले बताए ।

बारपाक सुलिकोटले पनि साउन २६–२७ गते चितवन र साउन २९–३१ गते काठमाडौँमा शिविर सञ्चालन गरेर ४२५ जनाको नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले जानकारी दिए । चुमनुब्री, अजिरकोट र आरुघाट गाउँपालिकाले समेत काठमाडौँ र चितवनमा शिविर सञ्चालन गरी सयौँ सेवाग्राहीको नवीकरण गरिसकेका छन् ।

विकट धार्चे गाउँपालिकाले भने भदौ १५ देखि १७ गतेसम्म सदरमुकाम गोरखामा शिविर सञ्चालन गर्ने तयारी गरेको छ, जसबाट करिब ६०० जनाले सेवा लिने अपेक्षा छ । गोरखाका पालिकाका करिब आधाभन्दा बढी सामाजिक सुरक्षाभत्ता सेवाग्राही सहरतिर बसोबास गर्ने भएकाले पहिलोपटक सहरमै पुगेर नवीकरणको व्यवस्था गरिएको हो ।

Facebook Comments Box