गर्मी छल्न म्याग्दीको कोप्रे झरना लोकप्रिय

म्याग्दी, १३ भदौ — म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना पछिल्लो समय गर्मीयाममा शीतलता खोज्नेहरूका लागि प्रमुख थलो बनेको छ। बेनी बजारबाट करिब दुई किलोमिटर पश्चिम म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा अवस्थित झरना केही वर्षअघिसम्म गुमनाम भए पनि अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।

झरनामा पुग्ने पर्यटकहरूले एकान्त र शान्त वातावरणमा छङछङ बग्ने पानीसँग रमाइलो गर्ने गरेका छन्। “बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ,” स्थानीय प्रीति छन्त्यालले अनुभव सुनाइन्। करिब १५० मिटर अग्लो झरना बर्खामा विशाल र मनमोहक देखिने गर्छ। पानी खस्दा इन्द्रेणी देखिने भएकाले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। बेनीका आनन्द पुनका अनुसार, झरनाको चिसो पानीमा भिज्दा छुट्टै आनन्द प्राप्त हुन्छ।

सार्वजनिक बिदा र बर्खायाममा दिनभर चहलपहल हुने कोप्रे झरनामा युवायुवतीले भिडियो, तस्बिर खिचेर सामाजिक सञ्जालमा टिकटक, रिल्स र स्टोरी बनाउन पनि रुचाउने गरेका छन्।झरनाको पूर्वाधार विकासमा स्थानीय र नगरपालिकाको पहल भइरहेको छ।

बेनी नगरपालिकाले रु २ लाख ५० हजार खर्चेर आश्रयस्थल, पार्किङ र फलामे बेञ्च निर्माण गरेको छ भने यस वर्ष थप रु २ लाख विनियोजन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए। यससँगै, गण्डकी प्रदेश सरकारमार्फत दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको क्रममा छ, जसले कोप्रे झरनातर्फ पहुँच सहज बनाउने नगरप्रमुख केसीले बताए।

Facebook Comments Box