गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर, २९ भदौ – सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या क्रमशः बढ्दै गएकाले संरक्षणकर्मी उत्साहित भएका छन्। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)को हालै सम्पन्न गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या १५५ पुगेको छ, जुन गत वर्षको १४३ भन्दा बढी हो।
सबैभन्दा बढी १२६ गुँड कञ्चनपुरमा, १२ बैतडीमा, १० डडेलधुरामा र सात कैलालीमा भेटिएका छन्। यस वर्ष कञ्चनपुर र डडेलधुरामा गुँड बढ्दा बैतडी र कैलालीमा भने केही कमी देखिएको छ। प्रदेशमा नौ प्रजातिका गिद्ध पाइने भए पनि कञ्चनपुरमा आठ र कैलालीमा सात प्रजाति फेला परेका छन्। सेप्टेम्बर ५–७ मा सम्पन्न राष्ट्रिय गिद्ध गणनामा ४८ स्वयंसेवक खटिएका थिए। त्यस क्रममा जम्मा ५७३ गिद्ध देखापरेका छन्।
बिसिएनका चराविज्ञ हिरूलाल डगौराका अनुसार सबैभन्दा बढी डङ्गर गिद्ध ४४२ वटा देखिएका छन्। त्यसैगरी हिमाली गिद्ध ९४, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हाडफोर गिद्ध पाँच र सानो खैरो गिद्ध नौ देखिएका छन्। लामो ठुँडे र राज गिद्ध जाडोमा मात्रै देखिने भएकाले गणनामा समावेश भएनन्।
गिद्ध ‘प्रकृतिको कुचीकार’का रूपमा परिचित छन्। मरेका जनावरको सिनो खाएर वातावरणलाई दुर्गन्ध र प्रदूषणबाट जोगाउने मात्र नभई हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्छन्।
तर संरक्षणकर्मीहरूका अनुसार गिद्ध अझै संवेदनशील अवस्थामा छन्। पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकजस्ता औषधि, बासस्थान अतिक्रमण, गुँड नष्ट हुने गतिविधि र वातावरणीय असन्तुलन प्रमुख चुनौती बनेका छन्।चरासंरक्षणकर्मी सुवन चौधरीका शब्दमा, “डाइक्लोफेनेकका कारण गिद्ध मृत्युदर बढ्दो छ। त्यसका विकल्पलाई प्रोत्साहन गर्न, पशुपालकलाई सचेत पार्न र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउनै पर्छ।”
संरक्षणकर्मीहरूका अनुसार गिद्धको बढ्दो सङ्ख्या सकारात्मक भए पनि दीर्घकालीन रणनीति आवश्यक छ। गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सके मात्र गिद्धको अस्तित्व दीर्घकालीन रूपमा सुरक्षित हुन सक्छ।

