रेडियो सगरमाथाले मनायो ३० औँ वार्षिकोत्सव

काठमाडौं, ९ जेठ – दक्षिण एशियाको पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जले आज आफ्‌नो स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ ।

२९ वर्ष पूरा गरी ३० औँ वर्ष प्रवेश गरेको अवसरमा सगरमाथाले आफ्‌नो भनिमण्डलस्थित कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेको दाबी गर्नुभएको छ ।

बाहिर प्रचारमा आए जस्तो सामुदायिक रेडियोको महत्व नघटेको बताउँदै उहाँले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएभएको छ ।

मन्त्री डा तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकाना व्यक्त गर्नुभयो । उहाँले लोककल्याणकारी विज्ञापनमा राज्यले रु ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताउनुभयो ।

सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्ने बताउँदै उहाँले लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुने प्रतिवद्धता जनाउनुभयो । मन्त्री डा तिमल्सीनाले जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूले २०६० सालदेखि २०७० सालसम्म रेडियो सगरमाथामा नियमित सेवा गरेको स्मरण गर्दै मन्त्री हुनुको आधार रेडियो सगरमाथा रहेको धारणा राख्नुभयो । नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तेइले ३० वर्षको यो यात्रामा रेडियो सगरमाथाले समुदायको आवाजलाई बुलन्द बनाउन सहयोग गरेको भन्दै नागरिकको आवाजलाई उजागर गर्न सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

युनेस्कोले सामुदायिक रेडियोहरूका लागि कार्यक्रम र फेलोसिपहरू प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले रेडियो सगरमाथा र वातावरण पत्रकार समूह एकअर्काका सारथी रहेका बताउँदै दुवै संस्थाको सहकार्य र समन्वयबाट प्रभावकारी र सकारात्मक सञ्चार प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेकाृे परिवेशमा रेडियो सगरमाथालाई धान्न कठिन भइरहेको यथार्थ औल्याउनुभयो ।

रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मिथ्या सूचना विरुद्ध सामुदायिक रेडियोको अभियान निरन्तर जारी राख्नुपर्ने बताउनुभयो ।

दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो । वार्षिक उत्सवका अवसरमा सगरमाथाले रेडियो संचालनमा विशेष सहयोग गर्ने दाता, शुभेच्छुक संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

Facebook Comments Box