कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने
काठमाडौँ, १० भदौ
मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजना हुने कार्यक्रममा महाकाव्य सार्वजनिक गरिने लम्सालले जानकारी दिनुभयो। यसअघि डा. लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन्। रेडियो नेपालको निर्देशक तहको जागिर छोडेर साहित्य सिर्जनामा सक्रिय लम्सालले ‘कल्प’ लेख्न झन्डै पाँच वर्ष लगाउनुभएको हो।
महाभारतका पात्र कर्णलाई नायक बनाएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, र आरनबाट उठेको सीपलाई देशको इतिहाससँग गाँसेर प्रस्तुत गरिएको अग्निपछि आउने कल्पलाई विशेष प्रतीक्षामा राखिएको छ।
शिखा बुक्सद्वारा प्रकाशित कल्पबारे प्रकाशक पुष्पराज पौडेलले यसमा वैश्विक चेतना अभिव्यक्त भएको बताए। “कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसको प्रभाव मान्छेमा कस्तो पर्छ भन्ने विश्लेषण गर्दै महाकाव्य लेख्नुभएको हो,” पौडेलले भने, “भाषा, शैली र विषयवस्तुको दृष्टिले कल्प नयाँ र महत्त्वपूर्ण हुनेछ।”
सूचना, समाचार र साहित्यमा चार दशकभन्दा बढी समय बिताएका डा. लम्सालले रेडियो नेपालमा करिब ३० वर्ष र बिबिसीमा १० वर्ष काम गर्नुभएको छ। गीत तथा कवितामा दीर्घ सक्रियता जनाउँदै आउनुभएका लम्सालको यो चौथो महाकाव्य र नवौँ कृति हो। उहाँले अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।

